बिरामी १: डाक्टरसाब ब्रस कसरि गर्ने ? मैले त मेसो नै पाउँदिन भन्या, सिकाइदिनु पर्यो लौन।
बिरामी २: डाक्टरसाब, म दिनको दुईपटक बुरुस गर्छु तैपनि मेरो दाँत जहिले फोहोर नै हुन्छ। आफ्नो सफा दाँत नदेखेको पनि वर्षौ भईसक्यो जस्तो लाग्छ ।
बिरामी ३: अस्तिनै एकजना डाक्टरसाबले गाउँमा आको बेलाँ दिनको दुईपटक दाँतमाझ्नु पर्छ भन्नुभाथ्यो, बुरुस त गरियो कि डाक्साब गिजा त भसक्कै तलतिर सरेर हैरान भाछु नि, तातोचिसो केहि खानु हुन्न ।
बिरामी ४: डाक्टरसाब खाना खाएपछि बिहानबेलुकी १० मिनेट जति लगाएर ब्रस गर्छु तर पनि दाँत सफै हुन्न के भा होला अचम्मै पर्छु भन्या म त!
बिरामी ५: डाक्टरसाब मन्जन कस्तो प्रयोग गर्ने ?
बिरामी ६: डाक्टर भाई बुरुस कति रुप्पे खाल्को प्रयोग गर्ने भन्देन यार!
यी सबै समस्याहरु काल्पनिक हैनन्। हरेक दिनजसो बिरामीहरुको मुखबाट सुनिने प्रतिनिधि समस्या हुन्। समस्या सुन्छु, लौन एकफेर ब्रस गरेर देखाउन लगाउछु, अनि अचम्म पर्छु । हामी टायल सफा गरेझैँ आवाज आउने गरेर पो ब्रस गर्दा रहेछौं। अचम्म छैन त कुरा। आफ्नो स्वास्थ्यको मामलामा हामी किन यति धेरै गैरजिम्मेवार?
अहिलेको समयमा त झन कोरोनाको महामारी चलिरहेको छ। सबै जना बन्दाबन्दिको असरले घरमै थुनिएर बसेका छौँ। खानपानमा परिवर्तन भएको छ। हाम्रा बानी बेहोरामा परिवर्तन भएको छ। दैनिकी नै अस्थिर भएको छ। यस्तो बेलामा मुख तथा दाँतको विशेष हेरचाह पुर्याउनु आवश्यक छ। त्यसैले आज सिकौँ कसरि ब्रस गर्ने, कस्तो पेस्टको प्रयोग गर्ने अनि कस्तो ब्रसको प्रयोग गर्ने ।
सामान्यतया सबैजसो बिरामीको लागि काम लाग्ने विधि भनेको बास तरिका(Bass Method) हो । यस विधिलाई प्रयोग गरेर राम्रोसँग ब्रस गरेमा गिजासम्बन्धि समस्याबाट बच्न सकिन्छ ।
विधिः
१) सबैभन्दा सुरुमा बुरुसको टाउकोलाई दाँतको चपाउने भागको समानान्तर हुने गरेर बाहिरि सतहमा राख्नुपर्दछ ।
२) बुरुसको टाउको पट्टिको भागलाई ४५ डिग्रिको कोण बनाएर दाँत र गिजाको भागमा पर्ने गरेर राख्नुपर्दछ । दाँत माझ्नको लागि सुरुवात सबै भन्दा अन्तिमतिरको दाँतबाट गर्नुपर्दछ । एकपटकमा जम्मा ३ वा ४ वटा दाँतसम्म सफा गर्न सकिन्छ।
३) राम्रोसँग दाँतमा बुरुस मिलाएर राखिसकेपछि बुरुसको सफा गर्ने भागलाई कम्पन गराउँदै अगाडि पछाडि गर्नुपर्दछ । यो प्रक्रियाको बेलामा सफा गर्ने बुरुसको भागलाई हल्लिन दिनुहुँदैन । कम्पनको सहायताले मात्रै सफा गर्नुपर्दछ । एकपटकमा बढिमा १५-२० कम्पन दिनुपर्दछ । यो भनेको १५-२० सेकेन्ड जति हो ।
४) यहि प्रक्रिया अपनाएर सबै भित्रि तथा बाहिरि भागमा सफा गर्नुपर्दछ । तलको दाँत सफा गर्दा तलतिर ४५ डिग्रिको कोण बनाउनुपर्दछ।
५) माथिको र तलको अगाडिको भित्रि भागमा सफा गर्दा छड्के बनाएर बुरुसको सफा गर्ने भागले तलमाथि गर्दै एकएक दाँत सफा गर्नसकिन्छ।
६) अन्तमा दाँतको चपाउने भागको सफाई गर्नुपर्दछ ।
नोटः
- सफा गर्ने बेलामा औँलाहरुको बलमात्र बुरुसमा लगाउनुपर्दछ। पाखुराको बल लगाउनुहुँदैन।
- परिमार्जित तरिकाः माथिको विधि अपनाउँदा कम्पनको सहाराले सफा गरिसकेपछि कुचोले बढारेझै गरेर माथिको दाँत सफा गर्दा तलतिर र तल तिरको दाँत गर्दा माथितिर गर्नुपर्दछ। यसले दाँतको माथिल्लो भाग पनि राम्रोसँग सफा गर्छ।
कति समय लगाएर ब्रस गर्ने ?
माथिको विधि प्रयोग गरेर दिनको दुईपटक खाना खाइसकेपछि करिब २-३ मिनेट ब्रसगर्नुपर्दछ । धेरै बल लगाएर धेरैबेर सम्म गर्दा गिजा तलतिर सर्ने सम्भावना हुन्छ । जसले गर्दापछि दाँतमा झन्झनाहट महसुस हुन थाल्दछ साथै तातो-चिसो खान नसकिने हुन्छ।
कस्तो बुरुस प्रयोग गर्ने ?
नरम किसिमको बुरुस प्रयोग गर्नुपर्दछ । कडा किसिमको बुरुस प्रयोग गरेर लामो समयसम्म ब्रस गरियो भने दाँत घोटिएर खाल्डो पर्ने र दाँत सिरिङ सिरिङ गर्न थाल्दछ । साथसाथै गिजा तलतिर सर्नपनि थाल्दछ ।
मन्जन कस्तो प्रयोग गर्ने ?
फ्लोराइड भएको जुनसुकै किसिमको मन्जन प्रयोग गर्न सकिन्छ । तर पाउडर भने प्रयोग गर्नुहुँदैन किनकि पाउडरले दाँत खियाउन सक्छ । त्यसैले फ़्लोराइड युक्त पेस्टको प्रयोग गर्नुपर्छ ।
कसले प्रयोग गर्न हुँदैन यो (Bass method) विधिः
- भर्खरै गिजासम्बन्धि शल्यक्रिया गरेका बिरामीहरु
- गिजा तलतिर सर्दै गएका मानिसहरु
( किनकि त्यस्तो अवस्थामा अरु नै बिधिले ब्रुश गर्नुपर्ने हुन्छ )
अन्तमा, उपयुक्त विधिको प्रयोग गरेर दिनको दुईपटक खाना खाईसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्नुपर्दछ । आफ्नो मुखको स्वास्थको लागि जम्मा २-३ मिनेट समय दिनको लागि कन्जुस्याईँ गर्नुहुँदैन । यो कुरा सधैँ ख्याल राख्नु पर्दछ । मुख स्वस्थ भएमा मात्रै सम्पुर्ण शरीर पनि स्वस्थ हुन्छ । स्वस्थ रहौँ, खुसि रहौँ, सुखि रहौँ ।
