बजेटमा मुख स्वास्थ्यः सधैझैं सौतेनी व्यवहार

देश कोरोनाको महामारीले आक्रान्त भएको छ। जनताहरु करिव २ महिनादेखिको लगातारको बन्दाबन्दिको कारणले घरमा बस्न बाध्य छन् । दैनिक कामकाजहरु सबै ठप्प छन् । आर्थिक गतिविधि त झनै डामाडोल नै भएको छ। उद्योग  कलकारखानाहरु प्राय बन्द अवस्थामा रहेका छन् । मानिसहरुमा एक किसिमको कुसमुकुस व्याप्त भएको छ। लगातारको बन्दाबन्दिको बिचमा आर्थिक अवस्था क्रमशः खस्किदै गैरहेको छ। मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने भुँइमान्छेहरुको अवस्था झनै दयनीय हुँदै गैरहेको छ। यसबिचमा निम्नमध्यवर्गिय मात्र हैन मध्यमवर्गिय जनताहरु पनि क्रमशः आर्थिक चपेटामा पर्दै जाने अवस्थामा पुगेका छन् । आफ्नो दैनिक कार्य गर्न नपाउँदाको अवस्थाले। यसैबिच गत जेष्ठ १५ गते अर्थमन्त्रीबाट आगामि आर्थिक वर्षको निम्ति बजेट प्रस्तुत भएको छ। कोरोनाको महामारीको बिचमा आएको बजेटलाई बडो आश लाग्दो नजरले हेरिएको छ। सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ। गतवर्षको भन्दा करिब २२ लाख बजेट स्वास्थ्यमा बढाएर सरकारले आफ्नो प्राथमिकता स्पष्ट पारेको छ। साथसाथै कोरोनासँग लड्नको निम्ति पनि उल्लेख्य मात्रामा बजेट बढाइएको छ।

यसपालीको बजेटमा प्राथमिकतमा परेका विषयहरु कोरोना तथा संक्रमक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको नि:शुल्क स्वास्थ्य बिमा, एक चिकित्सक-एक स्वास्थ्य संस्था कार्यक्रमलाई कार्य न्वयन, महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र र स्वायत खाद्य तथा औषधि प्राधिकरण (एफडिए) निर्माण, ३ सय शय्याको सरुवा रोग अस्पताल, सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला, ३ वर्षभित्र सबैको स्वास्थ्य बिमा, आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने, केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने, निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने, व्यायामशाला योग केन्द्र पनि चलाउने, राजमार्गमा ट्रमा सेन्टर बनाउने, आदि रहेका छन् । कोरोनाको कहरको बिचमा आएको बजेट धेरै कुराले सकारात्मक रहेको छ। पुर्वाधार निर्माण, जनशक्तिको व्यवस्थापन तथा सामान्य जनताको जनजिविकाको सवालमा बजेटको सन्तुलन एकदमै राम्रो देखिएको छ। कार्यान्वयन पक्ष कत्तिको मजबुत हुन्छ त्यो भने हेर्न बाँकि छ।

यिनै सकारात्मक पक्षहरुको बावजुद यसपालीको बजेट हाम्रो शरिरको एक महत्वपुर्ण अङ्ग तथा स्वास्थ्य प्रणालीको एक सबल पक्षः मुख स्वास्थ्यको बारेमा एकदमै मौन रहेको छ।

नेपालमा करिब ३२०० जना दन्तचिकत्सकहरु तथा ५७३ जना विशेषज्ञ दन्तचिकित्सकहरु रहेका छन्। यो तथ्याङ्क २०१९ डिसेम्बर महिनासम्म नेपाल मेडिकल काउन्सिलमा रजिस्टर्ड भएका चिकित्सकहरुको सङ्ख्या हो। यस मध्यमा करिब ५० जना जति दन्त चिकित्सकहरु सरकारी सेवामा रहेका छन् भने आर्मि पुलिसमा पनि नगन्य रुपमा छन् । त्यसै गरेर सरकारी सेवामा विशेषज्ञ दन्तचिकित्सकहरु एकदमै थोरै सङ्ख्यामा छन् । धेरै जसो जनसङ्ख्या निजि सेवामा रहेको छ भने कति चिकित्सकहरु बेरोजगारिमा रहेका छन् यकिन तथ्याङ्क छैन। सरकारि सेवाको लागि खुल्ने दरबन्दि एकदमै न्युन रहेको छ। कुल सङ्ख्या ३२०० को हाराहारिमा छ तर लोकसेवामा खूल्ने दरबन्दि ५-८ जनामा सिमित हुने गरेको विगतको इतिहास रहेको छ। धेरै जनशक्ति रोजगारिको समस्यामा हुने तर सरकारि दरबन्दि कहिल्यै पुग्दो नखुल्ने एक जरिएको समस्याको रुपमा रहेको छ। दन्त चिकित्सा सम्वन्धि जनशक्ति वढ्दै गएपनि देश भित्रको वितरण असन्तुलित छ । राजधानीमा दन्तरोग विशेषज्ञ र जनसंख्याको अनुपात १:९,००० छ भने राजधानी वाहिर १:५६,००० छ । । हाल नेपालमा छुट्टै डेण्टल काउन्सिल नभएको अवस्थामा दन्तचिकित्सा सम्वन्धि कार्यहरु पनि नेपाल मेडिकल काउन्सिलले नै हर्ने गरेको छ। जसले गर्दा दन्तचिकित्सा सम्बन्धि कार्यहरु प्रायजसो ओझेलमा पर्ने गरेकाछन।

त्यस्तै गरेर नेपालमा मुख स्वास्थ्यको अवस्था हेर्ने हो भने पनि एकदमै दयनिय रहेको छ। जनचेतनाको अभावको साथसाथै स्वास्थ्य सेवामा पहुँचको पनि अभाव रहेको छ। सन् २००४ मा गरिएको पाथफाइन्डर सर्भे हेर्ने हो भने पनि करिब ६४% व्यक्तिहरु दाँत दुख्ने समस्याबाट ग्रसित छन। यसै गरेर करिब ४४% (३५-३९ वर्ष) जनताहरु गिजा तथा गिजाको वरिपरिको हड्डिको जटिल समस्याबाट ग्रस्त रहेका छन। बालबालिकाको साथसाथै वयस्क व्यक्तिहरु पनि दाँत किराले खाँने र त्यसको सङ्क्रमण हड्डिसम्मै पुग्ने रोगबाट ग्रसित छन् । मुख स्वास्थ्य राम्रो बनाउन ब्रस गर्ने जनताहरु ग्रामिण भेगमा एकदमै कम रहेका छन् । जनसङ्ख्याको उल्लेख्य समुह दाँत जोगाउने भन्दापनि दाँत निकाल्ने उपचार गराउन बाध्य छन् । मुखस्वास्थ्य सम्बन्धि जनचेतनाको अभाव वयस्क व्यक्तिहरुमा एकदमै धेरै रहेको छ। यस वाहेक मुख तथा अनुहारको दुर्घटना, खुँडेपन र HIV  संक्रमणवाट मुखमा हुने समस्या पनि ठूलै रुपमा देखिएको छ ।

धेरैजसो नेपालीहरुका लागि मुख सम्वन्धी रोगहरुको उपचार महंगो पर्ने गरेको छ । सीमान्तीकृत तथा कम आय हुने जनसंख्याको लागि निजी क्षेत्रको दन्त स्वास्थ्य सेवा लिन नसकिने गरी उपभोग गर्न नसकिने गरी महंगो छ । देश भित्र अवैध सेवा प्रदायकहरुको संख्या पनि वढिरहेको छ । विरामीहरु परम्परागत उपचार पद्धति र अवैधानिक सेवा प्रदायकहरुकहाँ जाँदा उनीहरुको स्वास्थ्यमा उच्च खतराको स्थिति उत्पन्न भएको छ । हाल यस्तो अवैध उपचार कार्य रोकथामको लागि कानूनी प्रावधान नरहेको अवस्था छ । हाल नेपालमा दाँत र गिजाको रोगले प्रभावित जनसंख्या, मुख सम्वन्धी अर्वुद रोगवाट पीडित जनसंख्या एवं अवस्थावारे समग्र तथ्यांकको कमी रहेको अवस्था छ । आधारभूत स्वास्थ्य सेवा वीमामा मुख स्वास्थ्य वीमाको कुनै पनि व्यवस्था नरहेको अवस्था विद्यमान छ ।

हालको श्रोत साधनले सामाजिक-आर्थिक रुपले कमजोर रहेका जनसमुदायको पँहुचमा आधारभूत मुख स्वास्थ्य सेवा पुर्याउनु, मुख स्वास्थ्य सेवालाई समतामूलक र उपयुक्त साधनस्रोत सहितको सेवाको रुपमा व्यवस्थित गर्नु नेपाल सरकारको अगाडि ठूलो चुनौती रहेको छ । जनसांख्यिक वनौट, आधुनिकीकरणको साथै नेपालीहरुको आहारमा आएको परिवर्तनले गर्दा मुख सम्वन्धी समस्या वढेको अनुमान गरिन्छ । आधारभूत मुख स्वास्थ्यको पहुँचमा कमी, असमान/असन्तुलित जनशक्तिको वितरण र हाल विद्यमान कमजोर स्वास्थ्य स्थितिको कारण अधिकांश नेपाली जनताको मुख स्वास्थ्य समस्या सम्वोधन हुन नसकेको अवस्था छ ।

जनशक्तिको उचित सन्तुलित व्यवस्थापन नभइरहेको वर्तमान अवस्था र जनताहरुको पहुँचमा मुखस्वास्थ्य नपुगेको तत्कालिन अवस्थामा आएको वर्तमान आर्थिक वर्षको बजेटमा पनि मुख स्वास्थ्यलाई उचित प्राथमिकता नदिनु एकदमै दुखित पक्ष हो। स्वास्थमा गतवर्षको भन्दा करिब २२ अर्व बजेट थपिएको छ। तैपनि सरकारी निति तथा बजेटमा सर्वसाधारणको मुखस्वास्थ्यमा पहुँच पाउने हक समेटिएको छैन।

धेरै जनशक्ति शहरि क्षेत्रमा सिमित रहेका छन्, साथसाथै बेरोजगारिको सङ्घारमा पुगेका छन् । यस्तो अवस्थामा हरेक केन्द्रिय देखि लिएर सङ्घिय अस्पतालहरुमा दन्तचिकित्सकहरुको दरबन्दि बढाउनको लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा एक शब्द पनि उच्चारण नगरिनु बडो दुर्भाग्यपुर्ण अवस्था हो। सायदै सरकारी नितिमा मुखस्वास्थ्य परेको थियो र परेको छ।

मुख स्वास्थ्य नीति २०७१ मा उल्लेख गरिएका उद्देश्यहरुः मुख स्वास्थ्यको प्रवर्द्वन तथा रोगहरुको नियन्त्रण गर्ने, मुख स्वास्थ्य सम्वन्धी सेवामा सवैको पहुँच सुनिश्चित गर्ने, निरन्तर निगरानी, अनुगमन तथा मुल्यांकन र अनुसन्धानलाई प्राथमिकता दिन, स्वास्थ्य नीति तथा प्रणालीमा मुख स्वास्थ्यलाई प्राथमिकीकरण गर्ने, मुख स्वास्थ्यको विकासको लागि अन्य क्षेत्रहरुसँग साझेदारी गर्ने, स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्ने आदि उद्देश्यहरु सधैँ उद्देश्यमै सिमित हुने गरेका छन। सायदै ति कहिल्यै बजेटमा परेका थिए, परेका छन् वा पर्ने नै छन् ।

बजेटमा पर्ने आशा गरिएका विषयहरुः

१, केन्द्र देखि लिएर संघिय संरचनामा दन्तचिकित्सा सम्बन्धि अस्पताल

२, स्वास्थ्यकर्मीको दरबन्दिको उचित व्यवस्थापनको निम्ति बजेट

३ मुखस्वास्थ्य सम्बन्धि जनचेतना बढाउने कार्यक्रम

४, राष्ट्रिय बिमा कार्यक्रममा दन्तचिकित्सा सम्बन्धि रोगहरुको उपचार

यी लगायत दन्तचिकित्साका धेरै पाटाहरु बजेटमा नसमेटिनुले एक छुट्टै डेन्टल काउन्सिल त आवश्यक हैन भन्ने बहस पनि फेरि एक चोटि सतहमा आएको छ। एक स्वायत्त काउन्सिल जसलाई सरकारले टेरोस, दन्तचिकित्साको समस्याहरुलाई गम्भिर रुपले लियोस। डेन्टल काउन्सिल आवश्यक हो वा हैन भन्ने कुरा त आगामी दिनमा बहसमा आउला तर मुख स्वास्थ्यलाई सरकारले गम्भिर रुपले लिने बेला भने आइसकेको छ। उपयुक्त नितिको अभाव, कार्ययोजनामा आवश्यक ध्यान नपुग्ने हो भने मुख स्वास्थ्य सामान्य जनताको पहुँच भन्दा धेरै नै बाहिर जाने आँकलन गर्नसकिन्छ। सरकार तथा मुख स्वास्थ्यसँग प्रतक्ष सरोकार राख्ने संघसस्थाहरु यस विषयमा गम्भिर हुनुपर्ने बेला भएको छ। सामान्य दन्त चिकित्सक देखि सम्पुर्ण संघसस्थाहरुले सरकारी नितिमा आफ्नो दरो उपस्थितको लागि आवाज उठाउन पर्ने बेला भएको छ। जसले गर्दा अहिलेको अवस्थामा धेरै सुधार आओस।

बजेटमा मुख स्वास्थ्यसम्बन्धि कुराहरु प्राथमिकतामा परे वा नपरेपनि हामीले घच्घच्याउँन भने कहिल्यै छोड्नु हुँदैन। कुनैदिन यस्तो सरकार आउला वा दन्तचिकित्सा बुझेका चिकित्सकहरु पहुँचमा पुग्लान्, त्यो दिन अवश्य  नै आजको घच्घच्याहटले काम गर्नेछ र मुखस्वास्थ्य सम्बन्धि निति तथा कार्यक्रमहरु बजेटमा सामेल गरिने छन् । अवश्य आउनेछ त्यो दिन। आशा गरौं।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s