कोरोना कहरः आकस्मिक समस्या र दन्त उपचार

हरेक दिन बिहान ब्युँझिएर रेडियो बजाउनुस, टिभि खोल्नुस सबैतिर एकै खालको विषयवस्तु सुन्न पाउनुहुन्छ। करिव छ महिना अघिदेखिको दैनिकी नै भएको छ यो। भाइरस,सङ्क्रमण, रोग, रोगी अनि मृत्यु यिनै शब्दहरुको साथ बिहानी सुरु हुन्छ र यिनै शब्दहरुको साथ साँझ पर्दै दिनको अन्त हुन्छ। हो अहिले विश्व नै आतङ्कित भएको छ एउटा भाइरसको सङ्क्रमणले- कोरोना भाइरस। चिनको वुआन प्रान्तबाट गत डिसेम्बर महिनामा सुरु भएको स्वासप्रश्वास सम्बन्धि लक्षणसहितको सङ्क्रमण क्रमशः विश्व भरिनै फैलिसकेको छ। अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने विश्वभरि करिव ५०१९६७६ जना मानिसहरु कोरोना भाइरस सङ्क्रमित भएका छन, जसमध्य ३२८५६५ जनाको मृत्यु भइसकेको छ भने १९१३१०३ जना बिरामीहरु निको भएर घर फर्किसकेका छन।

कोरोनाको सङ्क्रमण विश्वभरि फैलिदै जाँदा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। नेपालमा पहिलोपटक चिनबाट आएका व्यक्तिमा माघ ९ गते कोरोना सङ्क्रमण देखिएको थियो। विश्वका सबै राष्ट्र कोरोनाको महामारी सँग जुधिरहदा नेपालमा खासै बिरामीहरुको सङ्ख्या देखिरहेको थिएन। पहिलो सङ्क्रमण देखिएको करिब एक महिनापछि दोश्रो सङ्क्रंण देखिएकोमा यो लेख लेख्ने बेला सम्ममा कुल ४५७ जना व्यक्तिहरु सङ्क्रमित भैसकेका छन भने, ४९ जना निको भएर घर फर्किसकेका छन। लामो समय सम्म बिरामिहरुको सङ्ख्या नबढेकोमा पिसिआर टेस्टको सङ्ख्या बढेसगैँ समुदायमा रहेका सङ्क्रमितहरुको पनि सङख्या उल्लेख्य रुपमा बढ्दै गहिरहेको छ। यसै अवधिमा मृत्यु हुनेको सङ्ख्या ३ जना पुगेको छ। मृत्यु सँगसँगै जनमानसमा तनावको स्थिति पनि बढ्दै गैरहेको छ।

कोरोनाको महामारीको कारणले स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको छ। अस्पतालको नियमित ओपिडि सेवा करिव २ महिना देखि बन्द भएको छ। के निजि के सरकारि सबै अस्पतालहरुको अवस्था उस्तै नै रहेको छ। अस्पतालको सेवा आकस्मिक अवस्थाहरुको उपचार गर्नुमा सिमित भएको छ। यस अवस्थामा बिरामीहरुको नियमित वा लामो समयदेखि पिडित रहेको रोगहरुको उपचारमा पनि वाधा उत्पन्न भएको छ। चैत्र महिनाको दोश्रो हप्ताबाट सुरु भएको बन्दाबन्दि पनि लगभग २ महिना नै पुग्न लागिसकेको छ। कतिपय अस्पतालहरुले आकस्मिक उपचारको निम्ति अनलाइनको व्यवस्था पनि गरेका छन।

मेडिकल क्षेत्र मात्रै हैन कोरोनाको महामारिबाट हाम्रो स्वास्थ्य क्षेत्रको अभिन्न अङ्गको रुपमा रहेको मुख स्वास्थ्य पनि अछुतो रहन सकेको छैन। बन्दाबन्दिको समयमा मुख तथा दाँत सम्बन्धि रोगहरु अनि आकस्मिक समस्याहरु पनि बढ्ने सम्भावना रहेको छ।

अहिलेको अवधिमा दन्तचिकित्सकहरु कोरोनाको सङ्क्रमणको जोखिममा उच्च विन्दुमा रहेका छन। दन्त उपचारको क्रममा प्रयोग हुने मेसिनहरुबाट, धेरै उपचार विधिहरु जस्तै दाँत सफागर्ने, दाँतको जरैदेखि उपचार गर्ने, दाँत निकाल्ने आदिबाट साना-साना तरल र ठोस कणहरु सहितको एरोसोल उत्पन्न हुन्छ।

जुन बिरामिको मार्फत स्वास्थकर्मी वा स्वास्थ्यकर्मीमार्फत बिरामी जसमा पनि सर्ने सम्भावना धेरै नै हुन्छ। साथसाथै दन्तउपचार विधि चिकित्सक, सहयोगी अनि बिरामि एकदमै नजिकै रहेर गरिने उपचार हो, जसमा करिब ३ मिटरको दुरी कायम गर्न एकदमै कठिन हुन्छ। पिपिइ चिकित्सकले लगाएपनि बिरामीलाई उपलब्ध गराउन अहिलेको अवस्थामा एकदमै गार्हो रहेको छ। त्यसैले उपचारको क्रममा उत्पादन भएको एरोसोल उपचार कक्षभित्र नै हुने सम्भावना धेरै हुन्छ। जुन पिपिई नलाएको बिरामीमा सजिलै सर्न सक्दछ। त्यसैले अहिलेको अवस्थामा डेन्टल क्लिनिक तथा अस्पतालहरु यो किसिमको व्यवस्था गर्नको लागि असक्षम रहेका छन।

बन्दाबन्दिको अवधि करिब २ महिनाको हाराहारीमा पुग्न लागिसकेको छ। क्लिनिक अनि अस्पतालहरुको अवस्था पहिलेको भन्दा झनै दयनिय हुँदै गैरहेको छ। बिरामीहरुको लागि पिपिई व्यवस्था गर्न सक्ने अवस्था एकदमै कम रहेको छ। मानिसहरु बाहिर निस्किन पाएका छैनन। यो समयमा दाँत तथा मुख सम्बन्धि समस्या आएमा के गर्ने भन्ने खुल्दुली सबैको मनमा रहेको हुन्छ। कति समयमा त सामाजिक सन्जालहरु, फोनमा मा पनि सोधिने क्रम बढ्दै गैरहेको छ। तर पनि मानिसहरुको  जिज्ञासाको समाधान भैरहेको छैन। जनमानसमा दाँत तथा मुखसम्बन्धि आकस्मिक समस्याहरु के हुन, कुन कुन समस्या आउँदा अस्पताल जाने, कुन कुन समस्याहरु हुँदा घर बाटै चिकित्सकहरु सँग परामर्ष लिने भन्ने बारेमा जिज्ञासा रहिआएको पाइन्छ।

दाँत तथा मुखसम्बन्धि आकस्मिक अवस्थाहरु

१, सहनै नसकिने गरेर दाँत दूखेमाः किराले खाएको दाँत नसा छुने अवस्थामा पुगेमा दाँत सहनै नसकिने गरेर दुख्न सक्दछ। दाँतको दुखाई मुखको अन्य भागमा सरेको अवस्था तथा दुखाइ कम गर्ने औषधि खाँदा पनि कम नभएमा नजिकैको अस्पताल वा क्लिनिकमा सम्पर्क राख्नुपर्दछ।

२, अत्यधिक मात्रामा रक्तश्राव भएमा वा रगत नरोकिएमा

३, दुर्घटना वा अन्य कारणले दाँत भाँचिएमा वा झरेमा

४, सङ्क्रमण वा चोटपटकको कारणले गर्दा अनुहार, गाला वा घाँटि वरिपरि सुन्निएर थुक निल्न वा सास फेर्न गार्हो भएमा

५, विभिन्न कारणले गर्दा मुखको हड्डि भाँचिएमा वा पुरै मुख बन्द भएमा

माथि देखिएका समस्याहरु देखिएमा छिटो भन्दा छिटो समयमा नै नजिकैको अस्पताल वा क्लिनिकमा गएर चिकित्सक सँग सल्लाह लिनुपर्दछ तथा उचित उपचार गराउनु पर्दछ।

कुन कुन समस्या आकस्मिक हैननः

१, दन्तेलेउ तथा दन्तेपत्थरको कारणले गर्दा देखिने फोहोर दाँत

२, किराले खाएको तर नदुख्ने अवस्था

३, मुख तथा गालाको भित्र आउने अल्सर

४, बुद्दि बङ्गाराको वरिपरि हुने सामान्य इन्फेक्सन

५, कृत्रिम दाँत लगाउने काम

६, बाङ्गोटिङ्गो भएर मिलाउन पर्ने दाँत

आकस्मिक बाहेकका अन्य समस्याहरुकोलागि अहिलेको समयमा अस्पताल जानु हुँदैन। अस्पताल जानु भनेको रोगको नजिकै जानु जस्तै हो। त्यसैले सामान्य समस्याहरुको उपचारको निम्ति टेलिफोनमार्फत जानकारी लिन सकिन्छ। सामाजिक सन्जालको उपयोग गरेर विभिन्न अस्पताल वा क्लिनिकले उपलब्ध गराएको हटलाइनको मार्फत पनि उक्त रोगहरुको बारेमा जानकारी लिन सकिन्छ।

बन्दाबन्दिको समयमा नियमित प्रक्रियाहरु सबै अवरुद्ध भएको छ। मानिसको दैनिकी सबै नै परिवर्तन भएको छ। यस समयमा दाँत तथा मुख सम्बन्धि समस्याहरु आउन नदिने उपाय भनेको नै आफ्नो बानी सुधार्नु हो। आफ्नो दन्त स्वास्थ्यको लागि केहि समय निकालेर यि कार्यहरु गर्न सकिन्छ जसले तपाईमा दाँत तथा मुखको समस्या हुन बाट बचाउने काम गर्दछ।

१, नियमित दाँत माझ्नेः दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने गर्नुपर्दछ। दाँत माझ्नको लागि प्रयोग गरिने बुरुसको अवस्था पनि ख्याल राख्नु पर्दछ। विगत ३/४ महिना देखि एउटै बुरुस प्रयोग गरिरहेको छ भने तुरुन्तै नयाँ बुरुस किनेर प्रयोग गर्नुपर्दछ। साथसाथै फ्लोराइडेटेड पेस्टको प्रयोग गर्नुपर्दछ जसले दाँतलाई मजबुत बनाउने गर्दछ। दाँत माझ्नुको अलावा हरेक पटक खाना खाईसकेपछि राम्रो सँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिदैन।

२, दाँतको बिच बिचमा रहेका फोहोरहरु ब्रस गर्दा ननिस्किन सक्छ त्यसैले डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ।

३, यदि  बुद्दि बङ्गाराको वरिपरिको गिजाको सामान्य इन्फेक्सन भएर सुनिएको छ भने गिजाको वरिपरि राम्रोसँग सफा गर्ने, मनतातो पानीले कुल्ला गर्ने, माउथवासहरुको प्रयोग पनि गर्न सकिन्छ। दुखाइ कम गर्नको लागि पारासिटामोलको प्रयोग गर्न सकिन्छ। यदि कोरोनाको सङ्क्रमण नभएको खण्डमा आइब्रुपोफिनको पनि प्रयोग गर्न सकिन्छ।

४, पहिल्यैदेखिको दाँतमा भरिएको फिलिङ्ग टुक्रिन सक्छ, टुक्रिएको छ तर दुखाई छैन भने केहि समय कुर्न सकिन्छ। यो अवस्था इमर्जेन्सि हैन त्यसैले आत्तिनु हुँदैन।

५, सामान्य  दाँत दुखेमा दुखाई कम गर्ने औषधिहरुको प्रयोग गर्नुपर्दछ तर ल्वाङको तेल तथा अन्य रासायनिक पदार्थहरु कहिल्यै दाँतमा राख्नु हुँदैन। यदि राखिएको खण्डमा सँगैको गाला तथा गिजा पाछिन सक्छ, साथै गाला/गिजाको घाउ भएर ईन्फेक्सन पनि हुनसक्दछ।

६, दाँतको झन्झनाहट बढेको खण्डमा कम गराउने पेस्टहरुको प्रयोग गर्नुपर्दछ।

७, खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्दछ। दाँतमा टाँसिने खानेकुराहरुको प्रयोग एकदमै कम गर्नुपर्दछ। साथै गुलिया खानेकुराहरुको खपत पनि कम गर्नुपर्दछ।

८, एन्टिबायोटिक, माउथवास, दुखाइका धेरै डोजका औषधिहरु खानु वा प्रयोग गर्नु भन्दा अगाडि सधैँ दन्तचिकित्सकको सल्लाह लिनुपर्दछ।

९, दाँत तथा मुखसम्बन्धि समस्याहरुको बारेमा जानकारि लिनको निम्ति नजिकैको अस्पताल, क्लिनिक वा दन्तचिकित्सकको सम्पर्क ठेगाना र फोन नम्बर लिईराख्नुपर्दछ।

अहिलेको कोरोनाको महामारीको समयमा दन्तचिकित्सा अनि दन्तचिकित्सकहरु एकदमै धेरै नै जोखिममा परिरहेको अवस्था छ। चिकित्सक र सहायक स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन उपयुक्त र मापदण्ड अनुसारको उपकरणहरुको अभाव चुनौतीको रुपमा खडा छ। गुणस्तरको त कुरा छाडौं, सामान्य मास्क र स्यानिटाइजर समेत बजारमा पाइँदैन। उपचारको क्रममा उत्पादन हुने एरोसोलले कोरोना भाईरसको सङ्क्रमण गराउन ठुलो भुमिका खेल्दछ। उपचारको लागि प्रयोग हुने सामाग्री, डेन्टल चेयरको निर्मलिकरण गर्न हुने समस्या, उपचारकक्षको निर्मलिकरणमा हुने समस्याहरुको कारणले पनि जोखिम बढाइरहेको हुन्छ। यस्तो जोखिमपुर्ण अवस्थामा उपचार गर्नुपर्ने अवस्था रहेकोले सकेसम्म अस्पताल जानुनै नपर्ने अवस्थाको लागि पहल गर्नु नै जोखिमबाट बच्ने उत्तम उपाय हो। सामान्य समस्याहरु घरमै बसेर चिकित्सकको सल्लाहमा समाधान गरौँ, आकस्मिक अवस्थामा मात्रै अस्पतालको ढोका ढकढक्याउँ। महामारीको समयमा आफु, आफ्नो परिवार तथा समाजलाई जोगाउन एक जिम्मेवार नागरिकको भुमिका निभाऔ। श्वस्थ रहौँ, खुसि रहौँ कोरोनालाई जित्ने लडाईमा स्वास्थ्यकर्मीहरुलाई साथ दिऔँ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s